२० वर्षभन्दा पहिले विवाह गरेमा किशोरको किशोरीको यौन तथा प्रजनन स्वास्थ्यमा नकरात्मक असर पर्दछ तसर्थ बिहेवारी २० वर्ष पारी गरौं !!! प्रत्येक बालबालिकालाई आफ्नो पहिचान सहित नामाकरण र जन्मदर्ताको हक हुनेछ तसर्थ बच्चाको जन्म भएको पैंतीस दिनभित्र आफू स्थायी बसोबास गरेको गाउँ नगर पालिकाको वडा कार्यालयमा गई बालबालिकाको जन्म दर्ता गरौं !!! प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य पालनपोषण, उचित स्याहार, खेलकुद मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुनेछ, तसर्थ बालबालिकाको सर्वाङ्गीण विकासका लागि अभिभावक र राज्यको भूमिका बढाउ !!! बालबालिका सम्बन्धी ऐन 2075 को.दफा 63 मा प्रत्येक स्थानीय तहमा बालबालिकालाई तत्काल उद्धार, राहत र पुनःस्थापना गर्न तथा क्षतिपूर्ति प्रदान गर्ने काममा समेत का लागि बाल कोषको व्यवस्था गर्नुपर्दछ भन्ने उल्लेख गरिएको ६, बाल कोषको स्थापना गरी बालबालिका सम्बन्धी ऐन 2075 को पालनामा सहयोग गरौं !!! बालबालिका सम्बन्धी ऐन 2075 को दफा ६१ बमोजिम प्रत्येक स्थानीय तहमा बालबालिकाको अधिकारको सम्मान, संरक्षण र सम्बर्द्धन तथा बाल संरक्षण कार्यसमेत गर्नको लागि बालकल्याण अधिकारी नियुक्त गर्नु पर्दछ तसर्थ बालकल्याण अधिकारी नियुक्त गर्नुभएका स्थानीय तहहरुलाई धन्यवाद व्यक्त गर्दै अन्य स्थानीय तहहरुलाई बालकल्याण अधिकारी.नियुक्ति गर्नका लागि अपिल गर्द !!!

11 Sep, 2025

बालबालिकाको स्वास्थ्य, संरक्षण र शिक्षामा विशेष ध्यान दिन बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानको अपिल 

जेन जी पुस्ताले २०८२ भाद्र २३ गते सुरु गरेको शान्ति पूर्ण प्रदर्शन र त्यस पछिका विकसित घटनाक्रम प्रति सिजपको गम्भीर ध्यानाकर्षण भएको छ ।
भ्रष्टाचार, बेथितिका विरुद्ध भएको आन्दोलनमा बालबालिका र युवा गरी ३४ जनाले ज्यान गुमाईसकेका छन् । जसमध्ये १८ वर्ष भन्दा कम उमेरका ४ जना बालबालिकाको समेत मृत्यु भएको कुरा आधिकारिक रुपमा पुष्टि भएको छ, भने १००० भन्दा बढि घाइते छन् । मृतक बालबालिका तथा युवाप्रति भावपूर्ण श्रदाञ्जली र यस दुखद घडीमा परिवारजनमा समवेदना व्यक्त गर्दछौँ । प्रदर्शनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना सहित निःशुल्क र प्रभावकारी उपचारको लागि सरकारसँग जोडदार माग      गर्दछौँ ।
प्रहरी दमन र मानव अधिकारको चरम उल्लंघन प्रदर्शनमा मानवीय क्षति त्यसपछिको परिस्थितिमा कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, सरकारी तथा निजी घर उद्योग, समाचार गृह, संघसंस्थाका कार्यालय, विद्यालयहरूमा आगजनी, तोडफोड, लुटपाट जस्ता गतिविधि भएका छन् । हिंसा बलात्कार, ज्यानमार्ने, सहकारी ठगी, मानव बेचबिखन लगायतका कार्यमा संलग्न भई अपराधको सजाय भोेगिरहेका १३००० जना जेलबाट बाहिर निस्कनु, यसैमा विभिन्न बालसुधार गृहमा रहेकाहरू बालविज्याईँका मुद्धाका सजाय काटिरहेकाहरूको समेत गोलीबाट ५ जनाको मृत्यु तथा धेरैजना घाइते भएका घटनाहरूप्रति खेद र भत्सर्ना प्रकट गर्दछौँ । यी सबै घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै समग्र घटनाको उच्च स्तरीय न्यायिक आयोग गठन गरी छानविन गर्र्न र दोशीमाथि कारवाही गर्न हामी जोडदार माग गर्दछौँ ।
जस्तोसुकै असहज परिस्थितिमा पनि सुरक्षित पूर्वक बाच्ने, संरक्षण हुन पाउनुपर्ने बालबालिका अधिकार हो । संचार माध्यममा प्रकाशित प्रसारित विभिन्न हिंसात्मक घटनाक्रममा बालबालिका विद्यालय पोशाकमा नै स्वयम्को संलग्नता हुनु, अभिभावकहरू नै सडकमा उत्रनु, बालबालिका घाइते र मृत्यु हुनु लगायतका समाचारले बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानलाई चिन्तित बनाएको छ । वर्तमान अवस्थामा विद्यालय बन्द भएका छन्, कतिका विद्यालय जलेका पनि छन्, बालबालिकाका कलिलो मानसिकतामा हजारौँ प्रश्नका लहर उठेका छन्, मानसिक स्वास्थ्यमा नै समस्या पर्ने अवस्था छ । बाल संरक्षण, विद्यालय र बालबालिका शान्ति क्षेत्र हुन्, बालबालिका राष्ट्रिय गौरव हुन भन्ने अवधारणालाई समेत जोखिममा पारेको देखिएको छ । पर्दशनका क्रममा दमन, त्यसपछि सार्वजनिक सम्पत्तिमाथि आगोलागी, लुटपाट, निशेध आज्ञा, क¥र्फू, विद्यालय बन्दले गर्दा बालबालिकाको सुरक्षित र संरक्षित हुनपाउने, शिक्षा पाउने, स्वतन्त्र रूपमा हिड्डुल र खेलखेल्न साथीहरूसँग घुलमिल गर्ने, बालमैत्री ढङ्गबाट रमाउन पाउने अधिकारमा समेत हनन् भएको छ ।
विभिन्न हिंसात्मक गतिविधिले बालबालिकालाई नकारात्मक मानसिक असर परिरहेको छ । यसै बिचमा बालबालिकाको राष्ट्रिय पर्वको रुपमा मानाइने राष्ट्रिय बाल दिवस भाद्र २९ गते पनि ओझेलमा परेको छ । सामाजिक संघसंस्था, शिक्षकका संघसंङ्गठन, संस्थाहरू, तिनैतहका सरकार, स्थानीय बाल अधिकार समिति, शिक्षा समिति, निजी क्षेत्र, सुरक्षा निकाय, अभिभावक, बालबालिका, विद्यालय व्यवस्थापन समिति, विद्यालय, शिक्षक अभिभावक संघ, युवा समूह, बाल क्लब लगायतका सम्बद्ध सरोकारवालाले यस विषम परिस्थितिमा उनीहरूको शिक्षा, स्वास्थ्य, संरक्षणमा ध्यान दिन, मनोविमर्श सेवा, शान्ति सम्बन्धी सन्देशमुलक कक्षाहरू चलाउदै बालबालिकाको मनोविज्ञानलाई सकारात्मकता तर्फ जोड दिनुपर्ने अवस्था सिर्जना भएको छ । पर्दशन, आन्दोलन, त्यसपछिका परिस्थितिले निम्त्याउनसक्ने जोखिमहरूबाट आफू र आफ्ना बालबालिकालाई जोगाउदै अपाङ्गता भएका, गर्भवती तथा सुत्केरी महिला, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, जोखिममा परेका, रोजगारीका अवसर गुमाएका बाबुआमाका छोराछोरी, गाउँघर, देश बाहिर रहेका अभिभावकका बालबालिकालाई विशेष ध्यान दिन, सहजता र सुरक्षामा ध्यान दिँदै सकारात्मक सन्देशमूलक सन्देशहरू मात्र प्रवाह गर्न, बालमैत्री वातावरण सिर्जना गर्ने तथा बालबालिकालाई समय दिने, बालबालिकासँगै सुरक्षित रहेर सकारात्मक खेलहरू खेल्ने, बाल अधिकार उलंघनका घटनाहरू र जोखिममा पर्नसक्ने अवस्थामा तत्काल नजिकका सुरक्षाकर्मी र बाल हेल्पलाइन सेवामा (१०९८)मा खबर गर्न सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै क्रमिक रूपमा विद्यालय सञ्चालन गर्न हार्दिक अपिल गर्दछौँ ।
विषम परिस्थितिमा राष्ट्रिय मानव अधिकार आयोग सहित ८ वटा नै संवैधानिक आयोगहरुलाई बाल अधिकार केन्द्रित अनुगमन गर्न र आन्दोलनरत जेनजी पुस्ताले भ्रष्टाचार, अनियमितता विरुद्ध उठाएका मागहरूलाई पूरा गर्न नेपालको संविधान भित्रै रहेर लोकतन्त्र, गणतन्त्र तथा प्राप्त उपलब्धिहरूलाई जोगाउँदै राजनीतिक निकास निकाल्न अपिल र अनुरोध गर्दछाँै । 

अध्यक्ष

तिलोत्तम पाैडेल 

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान